Monday , December 6 2021
Breaking News
Home / समाचार / हालै भित्रिएका चिनियाँ र अमेरिकी खोप यी उमेर समुहकाले पाउने

हालै भित्रिएका चिनियाँ र अमेरिकी खोप यी उमेर समुहकाले पाउने

सरकारले चीन र अमेरिकाबाट हालै ल्याइएका खोपको वितरण सम्बन्धमा लक्षित समूहहरू निर्धारण गरेको छ। स्वास्थ्य सेवा विभागले चीनबाट ल्याइएको भेरोसेल खोप ५५ वर्ष उमेर माथिकालाई र अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोनसनको खोप ५० देखि ५४ वर्ष उमेर समूहमा दिने जनाएको छ। यी उमेर समूहमा पहिलो मात्रा खोप लगाउन बाँकीले ती खोपहरू पाउनेछन्।

सोमवारको मन्त्रिपरिषद्को निर्णय अनुसार मङ्गलवारदेखि नै खोप कार्यक्रमहरू सञ्चालन गरिने सरकारले जनाएको छ। तोकिएको उमेर समूहबाहेक भेरोसेल खोपका लागि विश्वविद्यालय एवं विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू समेत योग्य हुने जनाइएको छ।

त्यसबाहेक उक्त खोप सार्वजनिक यातायातका चालक, सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नेपालीहरूले समेत पाउनेछन्। अहिलेसम्म खोप नलगाएका तर सरकारले तोकेका अत्यावश्यक सेवामा काम गर्नेहरूलाई समेत चिनियाँ खोप दिइने जनाइएको छ।

जोनसन एण्ड जोनसन खोप चाहीँ पूर्ण वा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूले समेत पाउनेछन्। नेपालमा रहेका शरणार्थी एवं यसअघिका खोप अभियानमा छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत उक्त अमेरिकी खोप दिइने जनाइएको छ। २८ असारसम्मको सरकारी विवरण अनुसार अहिलेसम्म नेपालमा १० लाख ७९ हजार १९२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

अहिलेसम्म नेपालमा कोभिशील्ड र भेरोसेल खोप मात्र वितरणमा आएका छन्। कोभिशिल्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्। सोमवार कोभ्याक्स सहायता अन्तर्गत अमेरिकी सहायताको १५ लाख ३४ हजार ८५० मात्रा जोनसन एण्ड जोनसन खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

चीनको सिनोफार्म कम्पनीसँग गरिएको खरिद सम्झौता अनुरूप ४० लाख मात्रा खोपमध्ये आठ लाख मात्रा शुक्रवार नेपाल ल्याइएको थियो। नेपाल ल्याइएकामध्ये जोनसन एण्ड जोनसन एक मात्रा मात्र लगाए पुग्ने खोप हो भने कोभिशिल्ड र भेरोसेल दुवै दुईवटा मात्रा आवश्यक पर्ने बताइएको छ।

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *