Tuesday , October 19 2021
Breaking News
Home / मनोरंजन / किरणले पाएको २५ लाख मध्ये एक हजार आमालाई दिने र बाँकी पैसाले एम्बुलेन्स किन्ने घोषणा

किरणले पाएको २५ लाख मध्ये एक हजार आमालाई दिने र बाँकी पैसाले एम्बुलेन्स किन्ने घोषणा

काठमाडौं । द भ्वाइस अफ नेपाल तेश्रो सिजनको बिजेताको उपाधी किरण गजमेरले जित्न सफल भएका छन ।शनिबार दर्शकको भोटिङको आधारमा घोषणा गरिएको नतिजामा उनि बिजेताको भागेदार भएका हुन् ।

उनले उपाधी चुमे सँगै नगद २५ लाख पुरस्कार विश्व साङगितिक भ्रमणको अवसर पाएका छन् ।शनिबार बिजेता बने पछि पत्रकारहरुसँग बोल्दै गजमेरले भने एक हजार रुपैया सरस्वति माताको आशिर्वाद मान्दै आमालाई दिन्छु र बाँकी पैसा को’रोनाको खोप र एम्बुलेन्स किन्न दिनेछु ।

किरण गजमेर टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका हुन्। उनले सेमि फिनालेमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका हुन्। रवि र किरणबिच कडा प्रतिस्पर्धा चलेको थियो। तर कार्यक्रमको नियमअनुसार एकजना बाहिरिनु पर्ने थियो।

जसमा रविले किरणको भन्दा कम भोट पाएर बाहिरिएका थिए। हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्। उनका बुवा भुटानबाट लखेटिए पछि मुलथलो नेपाल पुगेका थिए। किरणको बाल्यकाल खुदुनाबारी शिविरमा बितेको हो।

अमेरिका लगायत विभिन्न ८ देशले आफूहरुले संरक्षण दिने भनेपछि किरण १४ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए। किरणले ब्लाइन्ड अडिसनमा गायक सुजन चापागाईको ‘तिनपाते’ गीत गाएर चारै जनाको कोचलाई घुमाउन सफल भएका थिए। ब्लाइन्ड राउण्डदेखि नै किरणले निकै प्रशंसा तथा फ्यानको साथ र माया पाएका छन्।

किरणले ‘पूर्णिमाको चन्द्रमालाई’ बोलको गीतमा संगीत समेत भरिसकेका छन्। उनले मै बनौला माली, किन मायामा, ठुली ठुली जस्ता गीतहरु गाइसकेका छन्। साथै फिल्म ‘साढे ७’ को गजब हुनेछ र ‘राधा’ को ‘छपक्कै फूल फुल्यो’ बोलको गीतमा समेत स्वर दिइसकेका छन्।

‘द भ्वाइस अफ नेपालको अन्तिम चारमा टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई पुगेका थिए । बिजेता गजमेर कोच प्रमोदको टिममा रहेका थिए ।

थप समाचार – किरण उनै हुन्, जो १० वर्षअघि सन् २०११ मा सपरिवार अमेरिका गएका थिए । किरणका बा, हजुरबा हजुरआमा भने सन् १९९३ मा नेपाल आएका थिए, भुटानी शरणार्थी बनेर ।

शरणार्थी शिविरमै किरणका बाआमाको विवाह भयो । किरण यतै जन्मिए ।अहिले त किरण अमेरिकाको बासिन्दा बनिसकेका छन् । बाल्यकाल भने नेपालमै बिताए । बाँसको फक्ल्याँटोले बारेको घर, चुहिने छानोमा ओत लागेर सकियो उनको बाल्यकाल ।त्यही बाल्यकालमै किरणले संगीतको सुर सिके ।

गलालाई तिक्खर बनाउने कोसिस गरे । ‘त्यसवेला हामीसँग केही थिएन, आफैँ सिक्थेँ, आफैँ गाउँथेँ,’ किरण सुनाउँछन् ।अमेरिका पुगेको ११ वर्षपछि उनी रियालिटी सोमा भिड्न नेपाल आए । नेपाल आएर झापा गए, जहाँ उनको बाल्यकाल बितेको थियो । तर, त्यहाँ त सबथोक परिवर्तन भइसकेको रहेछ ।

पहिला टुकीको उज्यालोमा पढ्थे, बत्ती आइसकेछ । बाँसको फक्ल्याँटोले बारेका घरहरू थिए, जस्तापाता आइसकेछ । माटोले लिपेको भुइँ थियो, सिमेन्टको कंक्रिट बनिसकेछ । किरण बसेको शिविर र घर भएको ठाउँ त जंगल बनिसकेछ । ‘अस्ति जाँदा मलाई घरै ठम्याउन गाह्रो भयो ।

हामी बसेको ठाउँ त जंगल बनिसकेछ । धन्न सुपारीको रूख ढलेको रहेनछ र पत्तो लगाएँ,’ किरण सुनाउँछन्, ‘नेपालको माटोको गन्धसँग परिचित छु । गाउँघरको याद आउँछ । त्यही भएर पनि सुपारीको रूख देख्नासाथ चिन्न सजिलो भयो ।’उता भुटानमा पनि किरणको टन्न जग्गा थियो ।

त्यहाँ सुन्तला लटरम्म फल्थे । बस्तुभाउ थिए । किरण त यतै जन्मिए, तर उनका बाआमा, हजुरबाहरू भुटानको आफ्नो जग्गाबारे कुरा गरिरहन्छन् ।‘एकपटक जान पाए हुने’ भन्ने इच्छा प्रकट गरिरहन्छन् । तर, तत्काल सम्भव छैन । उनी भन्छन्, ‘बाआमाको कुरा सुन्दा मलाई पनि जाऊँजाऊँ लाग्छ ।

आफ्नो माटोको माया त लागिहाल्छ नि ! यता काठमाडौंमा बस्दा पनि जहिल्यै झापा जाऊँजाऊँ लागिरहन्छ ।’भुटानबाट किरणको परिवारले केही लिएर आएको थिएन, जीउमा लगाएको कपडाबाहेक । भाग्दैभाग्दै आएका थिए । यतै आएर सानोतिनो टहरा ठडाए । पछि किरणको परिवार अमेरिका गयो, अरू शरणार्थीहरू पनि गए । बाँकी अझै शरणार्थी यतै छुटेका छन् ।

उनीहरू बाहिर जान पाउँदैनन् । न नेपालको नागरिकता छ । पहिला विविध संस्थाले रासन दिने गर्र्थे, अहिले आफैँ कमाएर खानुपर्ने बाध्यता रहेको किरणले यतै आएर थाहा पाए । ‘यस्तो अवस्था देख्दा एकदमै दुःख लाग्छ । आफ्नो भूमि छाडेर बाँच्नुपर्‍यो ।

अहिले न नागरिकता छ, न केही । त्यसरी नै धेरैवटा पुस्ता सकिँदै छ,’ किरण भन्छन् ।भुटानबाट लखेँटिँदा उनीहरूले माटो छाडे । भएको जग्गा–जमिन र सम्पत्ति छाडे । मुलुक छाडे । त्यही भाषा, संस्कृतिमाथिको लडाइँकै कारण आफ्ना पुर्खा भाग्नुपरेको किरणको गुनासो छ ।

‘तर, लखेटेर जहाँ पु¥याए पनि भाषा, संस्कृति त मरेको हुँदैन नि ?,’ किरणको प्रश्न हो यो ।उनले अमेरिका पुगेपछि महसुस गरे, धेरैले नेपाली भाषा बिर्सँदै छन् । संस्कृति, पोसाक बिर्सँदैछन् । उनीहरू आफ्नो पहिचानप्रति चासो राख्दैनन् । यसैले पनि आफूलाई नेपाली संगीतले तानिरहने बताउँछन् उनी ।

भन्छन्, ‘मेरो उमेरका धेरै साथीहरूले नेपाली भाषा बिर्सिसकेका छन् । पछि आउने पुस्ताले त झनै बिर्सनेछ । त्यसैले, संगीतको माध्यमबाट आफूले सकेको कोसिस गरूँ, भाषा, संस्कृतिबारे अवगत गराऊँ भनेर संगीतमा लागेको हुँ ।’संगीतप्रतिको किरणको अभिरुचि भक्तराज, बच्चु कैलाशलगायत दिग्गज गायकले निर्माण गरिदिए ।

झापाको शिविर बसाइका क्रममा उनका गुरुहरूमा पनि यिनै अग्रजका खारिएका स्वर र संगीतहरू थिए । साथमा थिए हजुरबा, जो मादल बनाउँथे । किरणलाई बजाउन सिकाउँथे । एल्बमको तयारीमा रहेका उनी भन्छन्, ‘जे सुनेर हुर्कियो, त्यसैको चाह र आदत बस्नेरहेछ । त्यसैले मलाई संगीतले नै फेरि नेपाल ल्याइदियो ।’

About admin

Check Also

गायक रामजी खाँडले बनाए राजधानीमै ५ करोडको घर ( भिडियो हेर्नुहोस् )

लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले काठमाडौंमा आफ्नै घर बनाएका छन।झन्डै २ दशक लामो संगीत यात्रामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *