Thursday , January 27 2022
Breaking News
Home / रोचक / अमेरिकाको क्यालिफोर्निया बस्ने भन्दै युवाहरूसँग सम्बन्ध बढाउने नेपाली युवती

अमेरिकाको क्यालिफोर्निया बस्ने भन्दै युवाहरूसँग सम्बन्ध बढाउने नेपाली युवती

४० वर्षीया रीता हमाल ‘नाम परिवर्तन’ अहिले निकै तनावमा छिन्। एकजना भारतीय नागरिकलाई ‘अनलाइन’ मा विश्वास गरेबापत उनी ‘डिप्रेसन’ मा गइसकेकी छिन्। आफ्नो खाता प्रयोग गरेर अरू कसैले ९५ लाख रुपैयाँभन्दा बढी ‘ठगी’ कारोबार गरेपछि रीता मानसिक तनावमा परेकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनको भारतमा बस्ने एक युवकसँग चिनजान भयो। उनले नेपाल र भारतमा चल्ने एटीएम आवश्यक परेकाले सहयोग गर्न महिलालाई आग्रह गरे। महिलाले पनि विश्वास गर्दै
आफ्नो खाता नम्बर र एटीएम कुरियर गरेर भारतमा पठाइन्। युवकले महिलाको खाता र एटीएम प्रयोग गरेर विभिन्न मानिसहरूलाई ठगी गर्न थाले। महिलालाई समस्या तब आयो, जब खातामा पैसा पठाएका पीडितहरूले उनलाई खोजी गर्न थाले। पैसा माग्दै सम्पर्क गर्न थाले।

बैंक खातामा अस्वाभाविक रूपमा कारोबार भइरहेको भन्दै प्रहरीले उनलाई सचेत गराएको थियो। उनको विरुद्ध प्रहरीमा उजुरी आउन थालेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार करिब ६/७ महिनामा उनको खातामा ९५ लाख बराबरको रकम अनाधिकृत कारोबार भएको देखिन्छ।

घटना २

बागलुङ स्थायी घर भई भक्तपुरको सूर्यविनायकस्थित रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई महाशाखाको टोलीले गत वर्ष साउन ९ गते बुटवलबाट पक्राउ गर्‍यो। ती युवतीले सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत युवाहरूसँग नजिक हुने र बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेकी थिइन्। उनीहरूले आफूहरू अमेरिकाको क्यालिफोर्निया बस्ने भन्दै युवाहरूसँग सम्बन्ध बढाउने गरेकी थिइन्। उनीहरूले युवाहरूबाट ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट पुष्टि भएको छ।

घटना ३

आफूलाई नेदरल्याण्डको नागरिक बताउने एक व्यक्तिले फेसबुकबाट विभिन्न युवतीहरूलाई ठगी गरेका थिए। आफू नेपाल घुम्न आउने, विवाह गर्ने र बहुमूल्य सामानहरू आइफोन, सुनका गरगहना तथा डलरसमेत पठाइदिने प्रलोभन देखाएर उनले ४१ लाखभन्दा बढी रकम ठगी गरे।

उनले युवती तथा महिलालाई नेपालमा दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको नामको बैंक खातामा र आईएमई गरेर रकम जम्मा गर्न लगाउँथे। ठगिएका पीडितहरूले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धानका क्रममा काठमाडौंको सुन्धाराबाट सन्तोष श्रेष्ठ र आशा श्रेष्ठ पक्राउ परे।

जापानको अध्यागमन विभागमा काम गर्ने जापानी नागरिक भएको भन्दै फेसबुकमार्फत एक जनाले विभिन्न व्यक्तिबाट ३९ लाख बढी रकम ठगी गरेका थिए।

उनले जापानमा कामदार भिसा दिलाइदिने भन्दै पैसा जम्मा गर्न लगाउँथे। अपराध महाशाखाको टोलीले ठगी कार्यमा संलग्न शुभद्रा परियार, पूजा राई, राजेन्द्र ढकाल र दिपिका केसीलाई पक्राउ गर्‍यो।

यी केही उदाहरण मात्रै हुन्। अनलाइन तथा सामाजिक सञ्जालमार्फत ठगी गर्नेहरूको संख्या बढ्दो छ। सामाजिक सञ्जालमा साथी बनाउने, फाइदा हुन्छ भनेर भ्रममा पार्ने र ‘इमोनसनल ब्ल्याकमेलिङ’ गर्ने कार्य तीव्र बढेको छ।

अपराध महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ मा अनलाइन ठगी भयो भन्दै ८ करोडभन्दा बढी रकमका लागि उजुरी परेको छ। त्यसमध्ये ३ करोड ५ लाख २६ हजार ६ सय ८ रुपैयाँ ठगी गर्ने १० जना पुरुष र ३ जना महिला पक्राउ परेर मुद्दा चलाइएको छ। यी १३ जनाले ९ जना पुरुष र १७ जना महिलालाई ठगेको महाशाखाको तथ्यांकमा उल्लेख छ।

यो समाचार अन्नपूर्ण पोष्टमा अजवी पौड्यालले लेखेकी छन् ।

About admin

Check Also

आफ्नै श्रीमतीले सैनिक श्रीमानलाई भाउजुको यस्तो फोटो पठाएपछी…….

देउरानी जेठानीको सम्बन्ध दुई दिदीबहिनी जस्तै शुद्ध हुन्छ, जहाँ दुवैले एकअर्कालाई दिदीबहिनी मान्छन् । तर …

Leave a Reply

Your email address will not be published.