Thursday , October 28 2021
Breaking News
Home / प्रमुख समाचार / उड्नुअघि जहाजको इन्जिन जाँच्ने इञ्जिनियर दाजु–बहिनी

उड्नुअघि जहाजको इन्जिन जाँच्ने इञ्जिनियर दाजु–बहिनी

‘राइट ब्रदर्स’को ‘बालसुलभ बदमा’सी’ र ‘सपना’ आज आकाशमा उडिरहेका जहाज हुन्। विल्भर र ओर्भिल दुई दाजुभाइको सपनात्यति बेला जागेको थियो, जतिबेला उनीहरूको उमेर ११ र ७ वर्ष मात्र थियो।

विल्भर ११ वर्षका थिए, ओर्भिलको उमेर ७ वर्षका थिए। यी दाजुभाइका बुवाले बजारबाट ल्याइदिएको उड्ने खेलौनाले उनीहरूभित्र ‘हवाईजहाज निर्माता’को चेतना जागृत गरायो। बाँस, प्वाँख, कागज, रबरललगायतबाट बनाइएको उडाउने खेलौना नै ‘राइट ब्रदर्स’को जीवनमा ‘माइल स्टोन’ बनिदियो।

आकाशमा ‘हामी पनि उड्छौं सपना’ले नै सन् १९०३ मा साकार भएरै छाड्यो। ‘नवीनतम् सोचले भविष्य बदल्न सकिन्छ’ भन्ने भारतीय वैज्ञानिक एपिजे अब्दुल कलामको धारणा त सन् १९०३ मै पुष्टि भइसकेको थियो। एउटै कोखबाट जन्मेका दाजुभाइ, दिदीबहिनीको सोच पनि एकै भने संयोगमात्र हुने गर्छ।

नेपालमा पनि त्यस्तै दुई जना दाजुबहिनी छन्, जसको सोच ‘संयोग’ हो। काठमाडौंको कुमारीगाल–६ बौद्धका २७ वर्षीय सुमित गौतम र २६ वर्षीय सुम्निमा गौतम ती उदाहरण हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको इन्जिन परीक्षण गर्दा देखिने सुमित र सुम्निमा दाजुबहिनी हुन् भन्ने चाहिँ कमैलाई मात्र थाहा छ।

बुद्ध एयरमा कार्यरत एरोनेटिकल इञ्जिनियर सुमित र सुम्निमा सँगै कार्यालय जान्छन्, सँगै काम गर्छन्, एउटै काम अनि एउटै कम्पनीमा। पहिलो त सोच मिलेर नै हो, एउटै फिल्डमा सँगै काम गर्दा दुबै जना फुरूङ्ग छन्। ‘दाजुले एउटा विषय रोजे भाइबहिनीले अर्कै फिल्डको विषय रोजेका उदाहरण प्रशस्तै छन्,’

सुम्निमाले भनिन्, ‘तर, हामी दाजुबहिनीमा त्यस्तो छैन, हामीले सल्लाहले नै एरोनेटिकल इञ्जिनियरिङ पढेका हौँ।’ बाल्यकालदेखि दुबैको सोच एरोनेटिकल इञ्जिनियरिङ गर्ने नै थियो। आकाशमा हवाईजहाज उड्दा पनि उनीहरूलाई ‘यो कसरी उड्छ होला’ भन्ने खुुल्दुली लाग्थ्यो रे।

त्यो उत्सुकताले पनि सुमित र सुम्निमालाई एरोनेटिकल इञ्जियर बन्न प्रेरित गरेको रहेछ। ‘बस वा कार त यसरी चल्छ भनेर लजिक लगाउन सकिन्छ,’ सुमितले भने, ‘तर, हवाईजहाज कसरी उड्छ भन्ने लजिक लगाउन गाह्रो छ, प्लेन कसरी उड्छ भनेर हामी बहस गरिरहन्थ्यौँ, अहिले प्लेनका पार्टपुर्जा र इञ्जिनको सबैथोकको ज्ञान हासिल गरिसकेका छौँ।’

जिज्ञाशु स्वभावका यी दाजुबहिनीलाई सानो उमेरमा बुवाले किनेर ल्याएको खेलौना नै अध्ययनको साधन बन्ने गर्दथ्यो। ‘खेलौना खोलेर त्यसका पार्टपुर्जा हेर्दा पनि केही सिकेजस्तो आभाष हुन्थ्यो,’ सुमितले भने, ‘बुवा–आमा रिसाउनु पनि हुन्थ्यो, तर सिकाईको प्रक्रिया चाहिँ त त्यहीँबाट सुरू भएको हो।’

बाराको कलैयाका दीपक र साधना गौतमका छोराछोरी हुन्, सुमित र सुम्निमा। वि.सं. २०५८ सालमा काठमाडौं आउँदा सुम्निमा कक्षा पाँचमा पढ्दै थिइन्। एक वर्षपछि २०५९ सालमा स–परिवार काठमाडौं आउँदा सुमित कक्षा सातमा पढ्दै थिए। प्यारागन पब्लिक स्कुलमा पढ्दा–पढ्दै उनीहरू काठमाडौं आए।

र, दुबै जनाको पढाइ डेफोडिल पब्लिक स्कुलबाट अघि बढ्यो। एसएलसीपछि सुमितले युनाइटेड एकेडेमी र सुम्निमाले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टरबाट प्लस–टु पास गरे। एसएलसीमा विशिष्ठ श्रेणीमा पास भएकी सुम्निमाले प्लस–टुमा ६७ प्रतिशत अंक हासिल गरिन्।

एसएलसीमा ७१ प्रतिशत ल्याएका सुमितले ६१ प्रतिशत अंक ल्याएर प्लस–टु उत्तीर्ण गरे। अनि सुरू भयो, दाजुबहिनी सुमित र सुम्निमाको लक्ष्य प्राप्तिको असली उडान। सन् २००९ मा सुमित र सुम्निमा एरोनेटिकल इञ्जिरियरिङ अध्ययनका लागि भारतको राजस्थान गए।

सन् २०१३ सम्म भगवन्त विश्वविद्यालयमा एरोनेटिकल इञ्जिरियरिङ अध्ययन गरेपछि सुमित र सुम्निमा उत्साह र जोश लिएर नेपाल फर्किएका थिए। ‘हाम्रो लक्ष्य राम्रो एरोनेटिकल इञ्जिनियर बन्ने थियो,’ सुम्निमाले भनिन्, ‘त्यसैले सुरूदेखि नै लगनशील भएर अध्ययन गर्याैं।’

हवाईजहाज सम्बन्धी इञ्जिनियरिङ गर्ने सुमित र सुम्निमाको बाल्यकालदेखिकै चाहना थियो। पढ्दा, खेल्दा वा जुनसुकै काम गर्दा पनि उनीहरूको छलफलको विषय ‘एयर प्लेन’ बन्ने गर्दथ्यो। जब भगबन्त विश्वविद्यालयमा पढाइ सुरू गरे, उनीहरूको हवाई उडानको सपना साकार हुने दिन नजिकिँदै गयो।

‘पढाइ सुरू भए पनि कहिलेदेखि हवाईजहाज सम्बन्धी कुरा पढ्न पाइएला भन्ने कौतुहता हुन्थ्यो,’ सुमितले भने, ‘तर, चौंथो सेमेस्टरबाट मात्रै सुरू भयो।’ उनका अनुसार त्यसअघि आधारभूत विषयमा अध्ययन हुने गर्दथ्यो। विश्वविद्यालयमा पढाइसँगै उनीहरूलाई अभ्यास र व्यावहारिक ज्ञान पनि दिइन्थ्यो।

त्यही क्रममा उनीहरूले हवाईजहाज पनि बनाए, एडिएएलएन सिस्टम। साधारण भाषामा भन्दा नमूना हवाइजहाज। ‘सबैले बनाए पनि केही विद्यार्थीको मात्रै उड्यो,’ अध्ययन गर्दाको क्षण सम्झिँदै सुम्निमाले भनिन्, ‘त्यो दिन मलाई निकै ठूलो सफलता हासिल गरेजस्तो लागेको थियो।’

बाल्यकालमा विभिन्न आकारका र विभिन्न साइजका जहाज बनाएर उडाएको भन्दा पनि आनन्दको अनुभूति उनलाई भएको थियो। तर, हवाईजहाजकै वास्तविक आधारमा नमूना विमान बनाएर उडाएको चाहिँ सुम्निमाको यो पहिलोपटक थियो। हवाईजहाजमा यात्रा गर्दा दुबै दाजुबहिनीको ध्यान ककपिटमा हुने गर्दथ्यो।

पाइलटका गतिविधिमा उनीहरूको ध्यान केन्द्रित हुने गर्थ्याे। ‘पहिले पाइलट बन्न मन थियो,’ सुम्निमाले भनिन्, ‘तर, एरोनेटिकल इञ्जिनियरिङ गर्दा चाहिँ विमानका सबै पक्षको ज्ञान हुने थाहा भएपछि अध्ययन यसतर्फ मोडिएको हो।’ अहिले हवाईजहाजका पार्टपुर्जासँग खेल्दा उनलाई आफ्नो बाल्यकालदेखिको सपनाले मूर्त रुप पाएको अनुभूति हुन्छ।

एरोनेटिकल इञ्जिनियर सुम्निमा र सुमित हरेक दिन बिहान कार्यालयका लागि निस्किँदा सधैँ यात्रुको सुरक्षाप्रतिको दायित्व स्मरण गर्छन्। बुद्ध एयरका आठ वटा हवाइजहाज छन्। प्राविधिक पक्ष हेर्ने लाइसेन्स प्राप्त २२ जनासहित करिब ७० जनाको टिम छ। त्यही टिमका जिम्मेवार सदस्य हुन्, सुमित र सुम्निमा।

‘स्वभावैले आफ्नो काम जिम्मेवारीपूर्वक पूरा गर्न सकुँ भन्ने कामना गरिन्छ,’ सुमित भन्छन्, ‘सामान्य त्रुटिले भयानक स्थिति ल्याउन सक्छ भन्ने कुरासँग हामी सचेत छौँ।’ दोस्रो सेमेष्टरमा विश्वविद्यालयकी दोस्रो उत्कृष्ट भएकी सुम्निमा अहिले बेस मेन्टिनेन्समा कार्यरत छिन्। ‘मर्मतको काम गर्नुपर्छ, जुन विभिन्न चरणमा चल्छ,’ उनले भनिन्।

सुम्निमाका अनुसार हवाईजहाजको सुरक्षाको सम्पूर्ण जिम्मेवारी प्राविधिकलाई हुन्छ। ‘एक दिन, पाँच दिनदेखि एक महिनासम्मको मेन्टिनेन्स चल्छ,’ उनले थपिन्, ‘निर्धारित अवधिमा काम पूरा गर्नैपर्ने पनि हुन्छ।’ एयरक्राफ्ट मेन्टिनेन्स टेक्निसियनको लाइसेन्स प्राप्त इञ्जिनियरको निर्देशन अनुसार मर्मत–सम्भारको काम अघि बढ्ने उनले जनाइन्।

यात्रुको सुरक्षालाई मध्यनजर गर्दै विमान उड्ने बेलामा तीन तहको निरीक्षण हुन्छ। ‘प्राविधिकले हेरेपछि पाइलटले अनि को–पाइटलले पनि विमान निरीक्षण गर्छन्,’ उनले भनिन्, ‘कुनै किसिमको त्रुटि भएको रहेछ सुधार्न सकिन्छ, यात्रुको सुरक्षामा कुनै किसिमको कमी रहन दिनु हुँदैन।’

वातारणीय र भौगोलिक बनावटले पनि हवाई यात्रालाई सुरक्षित बनाउने गर्छ। त्यसैकारण नेपाली आकाश अलि जोखिमपूर्ण रहेको तर्क प्राविधिकहरूको छ। ‘हवाईजहाज सधैँ नयाँ हुन्छ, उडानका लागि योग्य रहेको प्रमाणपत्रबिना विमान ल्याउन र उडाउन पाइँदैन,’ सुमित भन्छन्, ‘त्यसैले नेपालमा प्रयोग भएका सबै विमान सुरक्षित छन्।’

तर, वातावरणीय प्रभावले केही समस्या हुने उनको बताए। ‘कर्णाली अञ्चल वा ताप्लेजुङ, सोलुखम्बुजस्ता उच्च हिमाली भागमा मौसम अनुकूलता हेरेर मात्रै उडान भर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो मौसमी कारण हो, विमानका कारणले होइन।’ हवाईजहाज उचाईमा पुगेपछि फुल्ने र पृथ्वीको सतहमा आउँदा सुक्ने उनले बताए।

‘विमानमा प्रेसर मेन्टेन गरिएको हुन्छ,’ सुमित भन्छन्, ‘यस्तो स्थितिमा कहीँ कुनै किसिमको क्य्राक आयो कि भनेर सजगता अपनाइएको हुन्छ।’ उनका अनुसार हवाईजहाजलाई सुरक्षित बनाउने जिम्मा प्राविधिकपछि पाइलटमा निर्भर रहन्छ। ‘मौसमका कारण समस्या हुनसक्छ कहिलेकाहीँ,’ उनले थपे, ‘विमान उडिसकेपछि यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउने जिम्मा चालककै हुन्छ।’

नेपालमा टर्बो प्रप र टर्बो फ्यान विमान सञ्चालनमा छन्। ‘जुन नेपाली आकाशका लागि सही मानिन्छ,’ सुमितले भने। नेपाली समाजमा छोरीलाई घरबाहिर पठाउनु हुँदैन भन्ने मानसिकता अहिले पनि व्याप्त छ। जुन मानसिकता छोरीचेलीले उच्च शिक्षा हासिल गर्ने मार्गका लागि तगारो बन्छ।

तर, सुम्निमाले कहिल्यै त्यस्तो स्थितिको सामना गर्नु परेन। ‘आमा–बुवाले सधैँ साथ र हौसला दिइरहनु हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले हामीलाई निरन्तर अघि बढ्न सहज भइरहेको छ, म सन्तुष्ट र आभारी पनि छु।’ एरोनेटिकल इञ्जिनियरिङको एक तहको पढाइ पूरा गरेका सुमित र सुम्निमा अझै दक्ष बन्न चाहन्छन्।

एरोनेटिकल इञ्जिनियरिङको स्नातक तह पूरा गरेपछि स्नातकोत्तर अध्ययनका लागि पनि विदेश नै जानुपर्ने बाध्यता छ। ‘नेपालमा प्राविधिक शिक्षाका लागि विश्वविद्यालय छैनन्,’ सुम्निमाले भनिन्, ‘त्यसैले भारत वा अन्य कुनै देशमा गएर पढ्ने चाहना छ।’उनी दक्ष भएर नेपालमै सेवा गर्ने सोचमा छिन्।

पर्यटन क्षेत्रको बृहत् विकासले नेपाली हवाई क्षेत्र पनि उक्सिने उनको तर्क छ। दक्षता हासिल गरेपछि स्वदेश फर्किएर जनताको सेवा गर्ने उनको सोच छ। ‘अहिले मुलुकको स्थिति ठिक छैन भनेर चिन्ता लिनु हुँदैन, विस्तारै सुध्रिन्छ,’ सुम्निमाले भनिन्, ‘त्यो दिन आफूले इच्छा गरेको काम सम्मानपूर्वक मुलुकमै काम गर्न पाइन्छ।’

नोटः सन् २०१७ मा प्रकाशित यो फिचर स्टोरी पठनीय भएको र जहाजको इञ्जिन कसरी जाँच हुन्छ भन्ने पाठकको जिज्ञाशाका कारण पुनः प्रकाशन गरिएको हो। सुम्निमा बुद्ध एयरबाट राजीनामा गरेर हाल अमेरिकामा छिन्।

About admin

Check Also

दुखद खबर- भारी वर्षापछि आएको पहिरोमा पुरिएर १७ जनाको मृत्यु, थप बिबरणसहित

काठमाडौँ । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *