Monday , October 18 2021
Breaking News
Home / समाचार / खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँले बढ्दै

खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँले बढ्दै

काठमाडौं। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ ।

आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ९६१.८८ लागत पर्ने देखिएको छ ।

निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको रु १३०, डिजेल र मट्टितेलको रु ११३, आन्तरिक हवाई इन्धनको रु ८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु एक हजार ४५० तोकिएको छ । उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ नोक्सान, डिजेलमा ७.०१ रुपैयाँ नोक्सान, मट्टितेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १.९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानको अवस्था छ ।

निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मकरुपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै रु एक अर्ब ५० करोड ७३ लाख नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय फेरि मूल्य बढ्न थालेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसले निगमको घाटा वृद्धिमा भूमिका खेलेको छ । निगमले गत भदौ ७ गते पछिल्लोपटक मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्य केही घटेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य घटे पनि निगमको लागत मूल्यभन्दा कम नभएपछि निगमले मूल्य बढाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारको मूल्य बढेको भन्दै त्यतिबेला निगमको आलोचना भएको थियो । यद्यपि त्यो समायोजनले निगमको नोक्सान पाक्षिक रु ८४ करोडको हाराहारीमा झारेको थियो । तर, आइओसीले त्यसपछि दुई पटक मूल्य बढाएर मूल्यसूची पठाएको छ । सेप्टेम्बर १ तारिख र अक्टोबर १ तारिखका दिन पठाएको मूल्यसूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । सबैभन्दा बढी मूल्यवृद्धि डिजेलमा भएको छ । डिजेलमा प्रतिलिटर ७.१४ रुपैयाँ मूल्य बढ्दा हवाई इन्धनमा प्रतिलिटर ६.९७ रुपैयाँ, पेट्रोलमा ४.०९ रुपैयाँ र मट्टितेलमा ३.५६ रुपैयाँ मूल्य बढेर आएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५.६९ रुपैयाँले बढेको निगमले जनाएको छ ।

त्यस्तै चाडबाड नजिकिँदै गर्दा तरकारीको मूल्य ह्वात्तै बढेको छ । हरेक वर्ष झैँ यसपाली पनि चाडबाडको मुखमा तरकारीको भाउ उकालो लागेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महिनायता तरकारीको मूल्य बढिरहेको छ । भदौ १३ गते प्रतिकिलो २० रुपैयाँ थोक मूल्य रहेको तीते करेलाको मूल्य अहिले ९५ रुपैयाँ पुगेको छ ।

यस्तै प्रतिकिलो २० रुपैयाँका दरले किनबेच भएको लौकाको मूल्य अहिले ७५ रुपैयाँ पुगेको छ । समितिका निर्देशक विनय श्रेष्ठले पछिल्लो एक महिनायता तरकारीको मूल्य बढ्न थालेको बताए । उनले भने, ‘पछिल्लो समय तीते करेला, लौका, घिरौंला र साग लगायतको मूल्य पनि बढेको छ । तर, यो अवधिमा केही तरकारीको मूल्य भने घटेको छ ।’

उनका अनुसार खासगरी उत्पादन सिजन सकिएका तरकारीको मूल्य केही महँगो भएको छ । निषेधाज्ञा हटेकाले यतिखेर होटल/रेष्टुराँ र क्यान्टिन लगायत खुल्दा पनि बजारमा तरकारीको माग बढेको छ । माग बढेको, तर आपूर्ति पर्याप्त नभएकाले पनि मूल्य उकालो लागेको समितिले जानकारी दिएको छ ।

कालिमाटीको थोक बजारमा प्रतिकिलो ४५ रुपैयाँ रहेको तोरीको सागको मूल्य अहिले बढेर ७५ रुपैयाँ पुगिसकेको छ । यस्तै, उक्त मितिमा प्रतिकिलो ७५ रुपैयाँ मूल्य रहेको रायोको सागको मूल्य अहिले १५५ रुपैयाँ पुगिसकेको छ ।

पछिल्लो एक महिनामा तोरीको सागमा प्रतिकिलो ३० रुपैयाँ र रायोको सागमा प्रतिकिलो ८० रुपैयाँ बढिसकेको छ । यो थोक मूल्य हो । अहिले रायोको सागको खुद्रा मूल्य प्रतिकिलो २५० रुपैयाँभन्दा पनि बढी छ । यस्तै, तोरीको सागको मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा बढी पुगेको छ ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *